तम्बा/डम्फू नाच सङ्क्षिप्त चिनारी

धावा वाङ्गेल मोक्तान / खोजराज गोले

 

१. परिचय
तामाङ समाजमा विभिन्न नाच (नृत्य)हरू विद्यमान छन् । ‘बोम्बोला ते’Sमा ! लमला छ्यम् !!’ भन्ने पनि गरिन्छन् । त्यसो त तम्बाको पनि नाच पाइन्छन् । तम्बाले डम्फूको तालमा तामाङ मौलिक गीत गाउँछन् । एक जना, दुर्इ जना वा समूहगत रूपमा नाच्छन् । डम्फू बजाउँदै नाच्ने हुनाले ‘डम्फू’ नाच पनि भन्ने गर्दछन् । कतै कतै टुङ्नाको समेत प्रयोग गर्दछन् । जन्मसंस्कारहरू; जस्तै : न्वारन, नामाकरण, छेवर, गुन्यूचोली दिने साथै विवाहको अवसरमा तम्बा नृत्य गर्न सकिन्छ । त्यस्तैगरी जात्रामात्रा तथा शुभकार्यहरूमा पनि तम्बाले नृत्य प्रस्तुत गर्न सक्छन् । पछिल्लो समयमा भने ल्होछार महोत्सवदेखि राजनैतिक लगायतका प्रदर्शनी वा अवसरमा समेत तम्बा/डम्फू नृत्यलाई समावेश गरेका पाइन्छन् ।
२. तम्बा/डम्फू नाचसँग जोडिएका पक्षहरू
तामाङ राष्ट्रको मौलिक पहिचानहरूमध्ये तम्बा/डम्फू नाच पनि एक हो । ‘तम्बा’ भनेको सांस्कृतिक पक्षसँग जोडिएको संस्था हो । यसको अतिरिक्त तामाङमा बोन र लामा गरी अन्य दुर्इ संस्थाहरू पनि विद्यामान छन् । मानवशास्त्रीय रूपमा तम्बा भनेको बोनको गीति पक्षलाई लिएर देखापरेको भन्ने देखिन्छ । पछिल्लो समयमा बौद्ध (लामा) धर्मको प्रवेशसँग यस संस्थाले बोन र लामा जस्ता दुर्इ विपरीत संस्थाहरूलाई एकसाथ संयोजन गर्दै अघि बढेको देख्न सकिन्छ । तम्बाले डम्फूको प्रयोग गर्ने हुनाले यहाँ तम्बा नाचलाई नै डम्फू नाच पनि भनिएको हो । यस नाचसँग जोडिएका विविध पक्षहरूका बारेमा भने निम्नानुसार चर्चा गर्ने गरेका पाइन्छन् ।
२.१ तम्बा
तम्बा भनेको तामाङ समाजको तीन मुली संस्थाहरूमध्येको एक हो । यसको उदय बोनबाट भएको भन्ने माथि नै उल्लेख गरिसकेको छ । तामाङ समाजको मानवशास्त्रीय उद्विकासको क्रमलाई हेर्ने हो भने हालको नेपाल देशमा प्रागऐतिहासिक कालदेखि नै प्रवेश गरेको देखिन्छ । यो राष्ट्र विशेषतः केरुङ नाका हुँदै प्रवेश गरेको थियो । आजभन्दा ३२ हजार वर्ष अगाडि नै काठमाडौं वरिपरि आइपुगेको यो राष्ट्रले हालको शैलुङ क्षेत्रमा पुगेपछि डम्फूको विकास गरेको मिथक पाइएको छ । शैलुङमा पेङदोर्जेले डम्फू निर्माण गरेपछि नै तम्बाको उदय भएको भन्ने देखिन्छ । त्यसभन्दा माथि अर्थात् नुवाकोट, धादिङ र रसुवा लगायतका स्थानहरूमा तम्बा भेटिएको छैन । यसप्रकार शैलुङबाट शुरू भएको डम्फू र तम्बा त्यहाँबाट पूर्व, दक्षिण हुँदै अगाडि बढेको देखिन्छ ।
तम्बाले जन्मदेखि मृत्युसंस्कारसम्ममा आफ्नो उपस्थिति जनाउँदै आएको छ । यसक्रममा बौद्धको दर्शन र बोनको संस्कृतिलाई समाजमा लागू गराउने कार्य पनि गर्दै आएको छ । तम्बालाई कवि, गायक, इतिहासवेत्ता, संस्कृतिको पालक तथा लागूकर्ताकै रूपमा चिन्ने र चिनाउने गरिएको छ । यसको आफ्नै दर्शन भन्दा पनि लामा र बोनको दर्शनलाई व्याख्या गर्ने गरिएको पाइन्छ । तम्बा बिना तामाङ समाज पूर्ण नहुन सक्छ । बोन र लामा अन्य जाति, समुदाय र राष्ट्रमा पनि पाइन्छन्; तर तम्बा भने तामाङ बाहेक अन्य कुनैमा पनि पाइएको छैन । यसले विशेषतः ह्रुर्इ र ठा(ग) अर्थात् थर र रगतको कुरा गर्छ । यसक्रममा तामाङ थरहरूका सम्पूर्ण पक्ष साथै रगत र दूधको नाताको बारेमा समेत चर्चा गर्दै आएको देखिन्छ ।
२.२ डम्फू
‘डम्फू’ तामाङको मौलिक पहिचानयुक्त बाजा हो । यसलाई तामाङ भाषामा ‘डम्फा’ वा ‘डम्बा’ वा ‘डम्बू’ पनि भन्ने गरिन्छन् । डम्फू भने नेपाली भाषाकरणको क्रममा भएको अपभ्रंसित उच्चारण हो । यसको निर्माण पेङदोर्जे (ब्योनदोर्जे)ले शैलुङमा गरेका थिए । मिथक अनुसार- उनले घोरलको छाला, कोइरालाकाठको घेरामा बाँसको ३२ किला ठोकेर बनाएका थिए । सोहीक्रममा डम्फूको समात्ने स्थानमा चोयाको ‘टेपटेप’ साथै त्यसको ठिक माथि भने डाँफेको प्रतीक बनाएका थिए । यो बाजाको प्रयोग जथाभावी रूपमा गर्न नहुने तामाङ मान्यता पनि पाइएको छ । तम्बाहरूले यसलाई ठूलो सम्मानका साथ प्रयोग गर्दछन् । यसको प्रयोग बिना पनि कतिपय अवस्थामा तम्बाहरू प्रस्तुत हुन्छन् भने कतिपय अवस्थामा यसको प्रयोग अनिवार्य मानिन्छन् । डम्फूको घेराले घामलाई सङ्केत गर्छ । त्यस्तैगरी ३२ किलाले मानिसको गुण साथ चराले डाँफेलाई प्रतीकात्मक रूपमा जनाएको हुन्छ ।
२.३ डम्फूरे
तामाङ समाजमा ‘तम्बा’को अतिरिक्त ‘डम्फूरे’ पनि पाइन्छ । ‘डम्फूरे’ शब्द ‘डम्फू’बाट बनेको देखिन्छ । ‘डम्फू’ भनेको बाजा हो साथै उक्त बाजा बजाउने व्यक्तिलाई ‘रे’ले प्रतिनिधित्व गरेको देखिन्छ । सोहीक्रममा ‘डम्फूरे’ नामशब्द बनेको स्पष्ट हुन्छ । कतिपयले ‘तम्बा’लाई नै ‘डम्फूरे’ भन्ने गर्दछन् । स्मरणीय तथ्य यो हो कि- ‘तम्बा’ भनेको सांस्कृतिक संस्था पनि हो; तर डम्फूरे भनेको डम्फू बजाउँदै रमाइलोको लागी गीत गाउने र नाँच्ने व्यक्ति मात्र हो । डम्फूरेले डम्फूको तालमा मनोरञ्जनमुलक गीत र नाच प्रस्तुत गर्न सक्छ तर तम्बाले सांस्कृतिक परिवेशमा विशेष कार्यसम्पादन गर्दछ । यी दुर्इ नामशब्दहरू एकार्काका लागि प्रयोग गर्न सकिने पर्यायवाची होइनन् । डम्फूरेलाई नै तम्बा भनेमा वा तम्बालाई नै डम्फूरे भनेमा ठूलो गल्ती हुन्छ । डम्फूरे भनेको त डम्फूको तालमा मनोरञ्जनमूलक गीत गाउने व्यक्ति मात्रै हो । ऊसँग धर्म, संस्कृति साथै तम्बाको गीत हुँदैन ।
२.४ तम्बा/डम्फू नाच
तम्बाले डम्फू बजाउँदै सोही तालमा गीत गाउँदै नाच्ने हुनाले नै तम्बा/डम्फू नाच भनिएको हो । तम्बा, डम्फू साथै डम्फूरेको बारेमा स्पष्ट भएपछि यस नाचको बारेमा बुझ्न सक्छौं । तम्बा वा डम्फू नाचमा केही भिन्नता देख्न सक्छौं । तम्बा नाच सांस्कृतिक पक्षसँग जोडिएकोले महत्त्वपूर्ण हुन्छ । डम्फू नाच भन्नाले डम्फूरेहरूले पनि नाच्न सक्छन् । यहीनेर तम्बा र डम्फूरेको नाच भनेर छुटाएर हेर्न र बुझ्न अति जरुरी देखिन्छ । तम्बा नाचमा उत्पत्ति, सिर्जना तथा सृष्टिसँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक गीतको प्रयोग हुन्छ । त्यसैले पवित्र मानिन्छ तर डम्फू नाच मात्रै भन्दाखेरि डम्फूरेसँग पनि जोडिन पुग्छ । डम्फूरेले नाचगान गरेको भन्ने अर्थ लागेपछि त्यसमा तम्बाको जस्तो नभई केवल मनोरञ्जनको लागि नाचिएको भन्ने हुन्छ । यसप्रकार एकै व्यक्तिले तम्बा वा डम्फूरे दुवैको भूमिका निभाउने भन्दापनि तम्बाले डम्फूरेको भूमिका निर्वाह नगर्दा राम्रो हुन्छ । समाजमा डम्फूरेलाई नाचगान गर्ने साथै जात्रामात्रामा गीत गाउँदै हिँड्ने भन्नेजस्तो हुन सक्छ । डम्फूरेले तम्बाको भूमिका निर्वाह गर्न सक्तैन ।
अब हामी तम्बा/डम्फू नाचलाई मुख्यतः दुर्इ भागमा विभाजन गरेर हेर्न सक्छौं । तम्बाले डम्फूको तालमा गीत गाउँदै नाचेमा तम्बा नाच हुन्छ । यसैलाई डम्फू नाच पनि भन्न सकिन्छ । तथापि डम्फूरेले नाच्ने नाचलाई तम्बा नाच भन्न सकिन्न । त्यसलाई डम्फू नाच भने भन्न पनि सकिन्छ । विशेषतः डम्फूरे नाच भन्दा अझै सही हुने देखिन्छ । अन्ततः तम्बा र डम्फूरे नाच भनेर छुट्याउने र दुवैलाई समेट्नेलाई डम्फू नाच भन्दा पनि खासै फरक नपर्ला कि ! स्मरणीय तथ्य- यो नाच उत्तरपश्चिममा रहेका धादिङ, नुवाकोट र रसुवा लगायतका क्षेत्रमा देखिएको छैन । विशेषगरी शैलुङ र त्यहाँदेखि उत्तर, पूर्व र दक्षिणी भेगमा प्रशस्त भेटिइन्छन् । यति कुरा गरिसकेपछि अब भने यी नाचका बारेमा सङ्क्षिप्त रूपमा चर्चा गरौं ।
क) तम्बा नाच : यसैलाई तामाङ भाषामा ‘तम्बा स्यबा’ भन्ने गर्दछन् । कुनै पनि शुभ वा जीवन संस्कारको बेला सृष्टि, सिर्जना, निर्माण, उत्पत्ति लगायतका सभ्यतासँग सम्बन्धित गीत तम्बाले गाएर नाचेमा तम्बा नाच भन्न सकिन्छ । त्यस्ता गीतले जीवन दर्शन तथा विश्वदृष्टिकोणलाई मुख्य विषयवस्तु बनाएको हुन्छ । यो नाच शुभकार्य विशेषगरी न्वारन, छेवर, गुन्यूचोली दिने साथै विवाह जस्ता जीवनसंस्कार एवंरीतले विशेष चाडपर्वमा नाचिन्छन् । भनिन्छ; डाँफेले नाच्दै आफ्नी प्रियसीलाई फकाउनका लागि सिउर, पखेटा र पुच्छर समेत हल्लाउँदै, फुलाउँदै नाच्दारहेछन् । मयुरले पनि त्यस्तैगरी नाच्दारहेछन् । तिनका नाचहरू देखेपछि पेङदोर्जेले त्यस्तै अभिनयका साथ नाच शुरू गरेका थिए । त्यही भएर तम्बा नाचमा हातगोडा, टाउको साथै कम्बर हल्लाउने, घुमाउने र मर्काउने गर्दछन् । नाच एकैजना वा दुर्इ जना वा सामूहिक रूपमा पनि नाचिन्छन् । नाच बिस्तारै अर्थात् नहतारिइकन हल्का पाराले नाच्छन् । बेस्सरी उफ्रने, चिच्याउने र कराउने जस्ता हर्कत गर्नुपर्ने नभएकोले बालबालिकादेखि चौरासी वर्षका वृद्धहरूले पनि अति सहजताका साथ हातमा डम्फू लिएर घण्टौंसम्म नाचेका देख्न सकिन्छ ।
यस नाचमा तम्बा आफैँ वा अन्य व्यक्ति समुहहरू नाच्छन् । तम्बाले विशेष डम्फूको तालमा विशेष गीत गाउँछन् । कति अवस्थामा तम्बा आफैँ गीत गाउँदै डम्फू घुमाउँदै बजाउँदै नाच्ने गर्दछन् । तम्बासँग अन्य व्यक्ति वा समूह पनि नाच्न सक्छन् । त्यसो त तम्बाले डम्फू बजाउँदै गीत गाउने र अन्य व्यक्ति वा व्यक्तिहरू समूह बनाए नाच्छन् । त्यसक्रममा महिला र पुरुषहरू एकसाथ नाच्छन् तथापि पुरुष एकातिर र महिला एकातिर भएर नाच्छन् । यस नाच प्रेमगीत वा नाचको आधारमा नाचिने नभएकोले जो पनि समूहमा नाच्न सक्छन् । नाचमा पुरुषले पुरुषसँगै र महिलाले महिलालाई जोडी बनाउँछन् । नारी र पुरुष एकसाथ भएपनि प्रेमी प्रेमिकाका रूपमा रहेका हुँदैनन् । त्यसैले त्यस्तो अभिनय गर्दैनन् । नाचमा कम्बर मर्काउँछन्, टाउको हल्लाउँछन्, मयुरले पखेटा हल्लाए जसरी कुम हल्लाउँछन् । पुरुषले पुरुषसाथि सँगै अनि नारीले नारीसँगै पछाडिबाट कुम जोडेर पनि नाच्छन् । कहिले पूरै उठ्छन् त कहिले एक घुँडा टेक्ने र एक घुँडा आधी खुम्च्याउँछन् । हातमा डम्फू लिएर तम्बाले गीत गाइरहेका हुन्छन् भने नाच्नेहरूले पनि भएसम्म डम्फू लिएरै नाच्छन् । डम्फू नभएमा हातैले डम्फू बजाएको अभिनय गर्छन् ।
नाचमा आफ्ना साथी बनाउने र विशेषतः पुरुषले अर्को पुरुष साथीलाई मयुर वा डाँफेले पखेटा फिँजाए जसरी बाटो छेक्ने र एकको स्थान अर्कोले लिने गर्छन् । यस नाचमा डम्फूको अतिरिक्त टुङ्नाको पनि प्रयोग गर्न सकिन्छ । टुङ्ना तम्बा वा बजाउन जान्नेले बजाउने र बजाउँदै नाचमा सामेल हुने गर्दछन् । नाच्दा डम्फू समात्ने आफ्नै तरिका हुन्छ । त्यस्तैगरी टुङ्ना समात्ने पनि सुन्दर शैली हुनु पर्दछ । डम्फू र टुङ्ना बजाउनेको नृत्यमा प्रस्तुति शैली अलि फरक हुन सक्छन् । बिस्तारै नाचिने हुनाले हत्तपत्त थाक्तैनन्; तथापि शरीरको अङ्ग प्रत्यङ्गमा तरङ्ग भने अवश्य पैदा हुन्छन् । यस्तो नाचलाई पवित्र मानिन्छन् । गीत, डम्फू र नाचको कारण अशुभ र अपसकुनहरू समाप्त हुन्छन् । नकारात्मक शक्तिहरू दूर हुन्छन् । कार्यक्रम सफल हुन्छ । सबैमा एक किसिमको सौहार्दता सिर्जना हुन्छ । देवदेवी, नागनागिनी, झ्योहोझ्योमो साथै सबैका कुलहरूसमेत खुशी हुन्छन् भन्ने जनविश्वास पाइन्छन् । नाचमा सृष्टि, सिर्जना वा उत्पत्तिसम्बन्धी गीतमा नाचिने नाच आफ्नै प्रकारको हुन्छ । विशेष कार्यक्रममा प्रमुख अतिथि अथवा छेवर र विवाहको बेला मामालाई स्वागत गर्ने बेला नाचिने नाचमा भने मामाको अघि हल्का शीर झूकाउँछन् । त्यसरी शीर झूकाएर विशेष श्रध्दा वा सम्मान प्रदर्शन गर्दछन् । माथि नै भनिएजस्तै ”बोम्बोला ते’Sमा ! लमला छ्यम !!”मा स्हेङ्सो, स्हिवा र ठोवापूर्ण नाचहरू हुन्छन् । भन्न खोजिएको- बोम्बो र लामाको नृत्यमा आह्वान, अनुनयविनय र नकारात्मक शक्तिलाई लखेट्ने किसिमको डरलाग्दा नाचहरू पनि हुन्छन् । तम्बा नाचमा भने बोम्बो र लामाको जस्तो ठोवापूर्ण चाहिँ हुँदैन । यसकारण स्हेङ्सो र स्हिवापूर्ण हुन्छन् । त्यसैले नाच्ने बेला बीचमा सगुन राख्न पनि सक्छन् । त्यसरी राखिएको सगुनको वरिपरि नाच्छन् ।
ख) डम्फूरे नाच : डम्फूको तालमा गीत गाउँदै डम्फूरे तथा झिल्के ब्योनदोर्जे (केटा) अनि छमे (तरुनी)हरू पनि नाच्छन् । त्यही नाचलाई नै डम्फूरे नाच भनिएको हो । यसलाई तामाङ भाषामै भने ‘डम्फूरे स्यबा’ भन्ने गर्दछन् । यो नाच कुनै स्हेङ्सो वा स्हिवाको लागि भन्दा पनि मनोरञ्जनका लागि नाचिन्छन् । यसमा केटाकेटीहरू सम्मिलित हुन्छन् । विशेषतः जात्रामात्रा वा मेलापात जाँदा वा छेवर अनि विवाहको बेला पनि नाच्छन् । यसमा गाउने गीत प्रणयभाव, छेडछाड, दोहोरीपूर्ण एवंरीतले विशेषतः मनोरञ्जन हेतुका हुन्छन् । तम्बा नाचमा डम्फू बजाउँदा र थन्क्याउँदा साथै नाच्ने बेला डम्फू समाउने र घुमाउने कार्य अति संवेदनशील मानिन्छन् । त्यत्तिकै फुत्त निकालेर वा जथाभावी घुमाएर वा बजाएपछि पनि झ्याप्प बन्द वा थन्क्याउने गर्दैनन् । शुरूमा बजाउने, अन्तिममा बिसाउने वा थन्काउने बेला विशेष तरिका वा शैली अपनाउँछन्; तर डम्फूरे नाचमा त्यस्तो हुँदैन । त्यसैले डम्फूरे नाचलाई विशुद्ध मनोरञ्जनपूर्ण मानिन्छ । यस्तो नाचमा एकले अर्कोलाई गीतमा हराउने तथा नाचमा पनि थकाउने र हराउने हुन्छन् । यसक्रममा ‘हुरहुर’ भन्दै नाच्छन् । दर्शकहरू पनि खुब रमाइलो गर्दै हाँसखेल गर्छन् । हाँसो र ख्याल ठट्टा प्रशस्त हुन्छ ।
३. उपसंहार
तम्बा तथा डम्फूरे नाच तामाङ राष्ट्रको चिनारी हो । यी नाचलाई हटाउने हो भने तामाङको एक पाटो ह्वाङ्ङै हुनेछ । परापूर्वकालदेखि नाचिँदै आएकोले नाचको आफ्नै महत्त्व र आवश्यकता पनि रहेको छ । यसले सिङ्गो समुदायको मौलिक पहिचान जगेर्ना गर्ने क्रममा आफ्नोतर्फबाट विशेष योगदान पुर्‍याउँदै आएको छ । अहिलेको पहिचानका लागि भइरहेको आन्दोलनको लागि पनि यसको विशेष महत्त्व रहेको स्पष्ट छ । तम्बा नृत्यमा सृष्टि, उत्पत्ति तथा निर्माणसम्बन्धी कथाहरू पाइन्छन् । तामाङ जीवन संस्कार, जीवनदर्शन, विश्वासपद्धति तथा विश्वदृष्टिकोण पनि भेट्टाउन सकिन्छ । तामाङ धर्म, संस्कृतिको अरिक्ति भाषा र साहित्य अनि बेजोड कलाको सङ्गम पनि झल्किन्छन् । डम्फूरे नाचले विशुद्ध तामाङ शैलीमा मनोरञ्जन प्रदान गर्दै आएको छ । भाषालाई जोगाउँदै यहाँसम्म ल्याएको छ । पछिल्लो समयमा यी नाचहरू पनि विश्वव्यापीकरण, औद्योगिकीकरण, पश्चिमाकरणका चपेटामा पर्दै आएका छन् । यी नाचलाई जोगाउन नसकिएमा तामाङ पहिचानको एउटा पाटो समाप्त हुनेछ । त्यसैले बेलैमा सबैको ध्यान यतातिर जान अत्यन्त जरुरी भैसकेको छ ।

खोजराज गोलेको facebook बाट


Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खरै